images
images

बाढीले ४५ किलोवाट क्षमताको विद्युतगृह बगाउँदा जनजीवन प्रभावित   


  • 327
    SHARES
  • २०७८ भाद्र २१ गते सोमबार

    बाढीले ४५ किलोवाट क्षमताको विद्युतगृह बगाउँदा जनजीवन प्रभावित   

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो । 

    वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब १  करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३ सय ७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए । 

    मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्याएको छ । लघु जलविद्युत्को विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए । 

    “यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ”, प्रअ ठाकुरले भने । बाढीले लघु जलविद्युत्मा पुर्याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ । 

    विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि १ करोड ५२ लाख रुपैयाँ को लागतमा पुनःनिर्माण गरिएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ८५ लाख रुपैयाँ र धवलागिरि गाउँपालिकाले  ५० लाख रुपैयाँ सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेका थिए । 


    images
    images

    Logo