काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्र्तगत इलाम क्षेत्र नं. २ मा २० जनाको उमेद्वारी परेको छ । त्यसैगरी बझाङमा प्रदेश सभा उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी बैशाख १५ मा हुने निर्वाचन अन्तर्गत इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयका अनुसार, उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा इलाममा २० र प्रदेश सभा बझाङ प्रदेश सभा १ मा १२ जना उम्मेदवार बनेका छन् । आयोगका अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ ।
मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको बताइएको छ । बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेको बताइएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म इलाम र बझाङ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राईले उमेद्वारी दर्ता गराएका छन् । त्यसैगरी जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् । उता बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्रीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको छ । सो क्षेत्रमा जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले समेत उम्मेदवारी दर्ता गराएको बताइएको छ ।



