images
images

२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब बचत


  • 384
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    २१ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब बचत

    काठमाडौं । चालु आथिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स २१ प्रतिशतले बढी हो ।

    गत वर्षको ८ महिनाको अवधिमा ७ अर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ९ सय ३२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७ रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ जना र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो । 

    शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब बचत

    शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको २०८०÷८१ को फागुन महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  १ खर्ब ४२ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५अर्ब ५८ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

     

     

     

     


    images
    images

    Logo