images
images

इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित


  • 378
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम र बझाङको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। इलाममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। त्यसको लागि निर्वाचन आयोगले बिहीबार अन्तिम नामावली सार्वजनिक गरेको हो। 

    इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता छन्। बझाङको १ (१) मा ६१ हजार ७ सय ४८ जना छन्। गत वैशाख १० मा भएको उपनिर्वाचनमा इलाममा एक लाख १५ हजार ४६७ र बझाङमा ६१ हजार ११० जना मतदाता थिए। इलाममा ४२२ जना र बझाङमा ६३८ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। 

    आयोगले फागुन २९ गतेदेखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम सञ्चालन गरेको थियो। उक्त नामावली अहिले वेबसाइटमा प्रकाशन गरिएको छ।

    वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला मतदाता ८८ लाख ८६ हजार दुई सय २६, पुरुष मतदाता ९२ लाख २ हजार पाँच सय ६९ र अन्य मतदाता एक सय ८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ। 

    गत वैशाखमा भएको उपनिर्वाचन यता (एक वर्षमा) देशभर ८७ हजार ४ सय १७ मतदाता थपिएका छन् । त्यतिबेला १ करोड ८० हजार १ हजार पाँच सय ६६ जना मतदाता थिए।

    यस विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन्। त्‍यहाँ महिला मतदाता ३ लाख ६२ हजार ९७३ पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० मतदाता छन्। 

    सबैभन्दा कम मतदाता मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ। त्यहाँ महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्। 


    images
    images

    Logo