गलकोट । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
“अहिले पाँचवटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ”, मरासीनिले भने, “मोदीको पाथीचौरबाट कुस्मातर्फ दुई स्काभेटर, कुस्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।”
उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ ।
सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।



