काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटको फैसला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एक्लैले गर्ने भएका छन् । उक्त रिट आज प्रधानन्यायाधीश राणाको एकल इजलासमा परेपछि कुलमानको भविश्य प्रधानन्यायाधीशको हातमा सीमित रहेको विश्लेषण सुरु भएको हो ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए ।
यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । तर न्यायाधीश रेग्मीले रिट सोही दिन हेर्न नभ्याइनेमा राखेका थिए । त्यसपछि पुनः प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले हितेन्द्रदेव र कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल मगाएको थियो ।
साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेको थियो । तर एक साता नबित्दै शाक्यले उक्त पद अस्वीकार गर्दै भदौ १ गते रिट दिएका थिए । हाल उक्त रिट उत्प्रेषणमा राखेको छ ।



