काठमाडौं । नयाँ सरकार गठन भएसँगै कर्मचारीहरु मालदार निकायमा जान दौडधुप सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकारले आफू अनुकुल हुनेगरी विभिन्न मन्त्रालय तथा विभागमा कर्मचारीहरुको सरुवा र पदस्थापन गर्ने क्रममा छ । यही क्रममा केही मन्त्रालयमा सचिव सरुवा भइसकेका छन् भने अहिले मन्त्रालय तथा विभागमा सहसचिवको व्यापक सरुवा गर्ने तयारी गरिएको छ ।
अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभाग, भन्सार विभाग लगायतका विभागहरुमा नयाँ सहसचिव गएसँगै यतिबेला अधिकांश कर्मचारीको आँखा राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतमा गएको छ । सो ठाउँमा जान शक्तिकेन्द्रमा दौडधुपको क्रम तीव्र छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर अनुसन्धानको क्रममा रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल यतिबेला अनुसन्धान विभागको महानिर्देशक बन्न दौडधुप गरिरहेका छन् । यसका लागि उनले प्रधानमन्त्रीनिकट स्रोतसँग सम्पर्क बढाइरहेको बुझिएको छ ।
पौडेलले नेपाललाई चाहिनेभन्दा बढी मरिच, मटर लगायतका खाद्य सामाग्री आयात गर्न अनुमति दिएर तस्करी बढाउन खोजेको आरोप लाग्ने गरेको छ । यही आरोपमा उनीसँग अख्तियारले बयान समेत लिइसकेको छ ।
त्यसैगरी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक बन्ने तीव्र लबिङमा छन् । शक्तिकेन्द्रसँग नजिक मानिएका दाइ रुपनारायण भट्टराईको सहारामा उनी सो विभागमा जाने लबिङ गरिरहेका हुन् । यसअघि रुपनारायण पनि सो विभागको महानिर्देशक भइसकेका छन् ।
भट्टराई पनि आफैंमा विवादरहित व्यक्ति होइनन् । ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा होस् वा धनुषा र भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुँदा उनले शक्तिकेन्द्रको आडमा अनधिकृत रुपमा आर्थिक लाभ लिने गरेको आरोप लाग्दै आएको छ । उनी नै सम्पत्ति शुद्धीकरण जस्तो अनुसन्धानमूलक निकायमा पुग्ने तीव्र लबिङमा छन् ।