काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाडौं, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट कार्यक्रम भयो ।
कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उनकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना र स्थानीय तहहरुबीचको सहकार्य अविस्मरणीय रहेको बताउँदै भक्तपुरको रानीपोखरी जीर्णोद्धारमा नेपाली सेनाले सहयोग गर्न पाएकोमा निकै गौरवान्वित महसुस भएको बताए ।
नेपाली सेना र उपत्यकाका महानगरपालिका र नगरपालिकाहरुसँगको समन्वयले सार्वजनिक महत्वका धेरै कामहरुमा सफलता हासिल भएको बताउँदै उनले नेपाली सेनासँगको आपसी समन्वय र सहकार्य आगामी दिनहरुमा निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाली सेनाको मुख्य उद्देश्य भनेकै राष्ट्रको सेवा गर्ने रहेको भन्दै उनले स्थानीय तहहरुसँगको समन्वय र सहकार्यले विभिन्न गतिविधिहरु सञ्चालन गर्न सहजता प्रदान गर्ने बताए ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी जीर्णोद्धार र सिद्धपोखरीको उत्तरतर्फको खेल मैदान स्थानीयको खेलकुद प्रयोजनका लागि खुल्ला गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । उनले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
नेपाली सेनासँगको सुमधुर सम्बन्धको लागि नगरपालिका सँधै सकारात्मक रहेको भन्दै उनले भक्तपुर नगरपालिका नगरको सरसफाइमा नेपाली सेनासँग आवश्यकता अनुसार सहकार्य गर्दै कोभिड आउनुपूर्व पाक्षिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै आइरहेको अवगत गराए ।
प्रधानसेनापति थापा यही भाद्र २४ गतेदेखि अवकाश पाउँदैछन् । सेनाको नियमानुसार एक महिना अघिदेखि बिदामा बस्नु पर्ने भएकाले हाल उनी बिदामा छन् ।



