images
images

'विपद र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस'


  • 533
    SHARES
  • २०७८ भाद्र १९ गते शनिबार

    'विपद र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस'

    काठमाडौं । विपद् र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस भएको गृह सचिव टेकनारायण पाण्डेले बताएका छन् ।  
     
    नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२० साल भाद्र १९ गते भएको थियो । नेपाल रेडक्रसको स्थापना दिवसका अवसरमा लिखित् शुभकामना सन्देश दिदैं गृह सचिव पाण्डेले भने, “विपद्को अवस्थामा आम मानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरोलगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन । मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफनो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयममा तीर्थस्थल हो । ”

    नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले रेडक्रसको झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले रेडक्रसले गर्दै आएका मानवीय सेवाको प्रशंसा गरे । रेडक्रसले चाँडो भन्दा चाँडो बैधानिक दायित्वहरु पुरा गरी रेडक्रस कानुन ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । 

    स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले  आगामी असोज १३ र १४ गते विशेष महाधिवेशन गरी विधान परिमार्जन गर्ने र कार्तिक १ र २ गते निर्वाचनसहितको महाधिवेशन गरी यो तदर्थ समितिको जिम्मेवारी पुरा गर्ने बताए । साथै समुदायस्तरसम्म सञ्जाल स्थापित भई सेवा पु¥याउन सफल र अन्तर्राष्ट्रिय अभियानसँग जोडिएको नेपाल रेडक्रस सोसाइटीको प्रभावकारी सञ्चालनका लागि छुट्टै ऐनको आवश्यकता महशुस भएको बताए । उनले ऐन निर्माण गरी वैद्यानिकतालाई सवल बनाउन सरकार तथा सबै शुभेच्छुकहरूको सहयोगको अपेक्षासमेत गरे । 

    भूकम्प, बाढी, पहिरोजस्ता विपद्का क्षेत्रमा निरन्तर काम गरिरहेको नेपाल रेडक्रसले कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणमा गरेको कार्य प्रशंसनीय रहेको बताउँदैै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीका नेपाल प्रमुख अजमद उल्लाले मानवीय पीडा कम गराउने रेडक्रसको यात्रामा आईएफआरसी सदैवसँगै रहने बताए । यस्तै दिवसका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका नेपाल प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्वदेखि नै नेपाल रेडक्रसको साझेदारीमा सँगै रहेको बताए । नेपाल रेडक्रसलाई आप्mनो कानुनको आवश्यक्ता रहेको औल्याउँदै नेपाल प्रमुख श्रेष्ठले आईसीआरसीले नेपाल रेडक्रसलाई संस्थागत हितका लागि सदैव सहयोग गर्न तयार रहेको बताए ।  

    दिवसका अवसरमा आयोजित कार्यक्रममा रेडक्रस, यसका गतिविधि र देखिएका चुनौतीका बारेमा सोसाइटीका उपाध्यक्ष डा.विश्वकेशर मास्के, महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी गराएका थिए । कार्यक्रम भर्चुअल पनि आयोजना गरिएकोले नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारीसँगै प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । दिवसका अवसरमा कविता वाचन कार्यक्रम पनि राखिएको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसर पारेर केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 


    images
    images

    Logo