काठमाडौं । भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेको छ । भारतले आगामी जुन सम्मको लागि मात्र आयात अनुमति नवीकरण गरेको हो ।
नेपाल र भारतबीच २०७८ मसिंरमा विद्युत आयात सम्बन्धी पाँच वर्षे सम्झौता भएको थियो । पाँच वर्षका लागि भए पनि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने सम्झौताको म्याद मार्च ३१ मा सकिन्छ । यसअघिका वर्षमा भारतले वार्षिकरूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको छ ।
यस्तै नेपालले आयात गर्दै आएको विद्युत् परिणाम समेत भारतले घटाएको छ । यसअघि साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा यसपटक साढे पाँच सयमा झारेको छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट बिजुली तीन महिनासम्म आयात गर्न पाउने गरी भारतले अनुमति सम्बन्धी सम्झौता नवीकरण गरेको हो ।
अहिले नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।



