पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ ।
जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको हो भने दुई जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा एकै घरका ५ जना रहेका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
त्यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पाहुना आएकी आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि ज्यान गएको छ ।
कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यसैगरी पर्वतको मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । पहिरोको कारण शुक्रवार बिहानैदेखि विद्युत् सेवा बन्द र टेलिफोन सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



