काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले, यस साताको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अंकले घटेर २ हजार ३१ दशमलव ५५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय ४ स्क्रिपको २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको विहीबार ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएको ३७ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ४ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू) र सर्वोत्तम सिमेन्ट रहेका छन् । त्यस्तै, धौलागिरि लघुवित्तको शेयर मूल्य ९.६६ प्रतिशतले बढेको छ भने तारागाँउ रिजेन्सीको ८.०४ प्रतिशतले बढेको छ । सीवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशतले बढेको छ ।



