images
images

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाले दिए आवेदन, को–को छन् ?


  • 322
    SHARES
  • २०८० चैत्र १ गते बिहीबार

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाले दिए आवेदन, को–को छन् ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले जारी गरेको सूचना अनुसार अन्तिम दिन बुधबार साझँसम्म १९ जनाको आवेदन दिएका हुन् । 

    बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा.गोपाल प्रसाद भट्ट, नीरज गिरी, डा.केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रबिन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बीमल  कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्की छन्।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले यही फागुन १६ मा अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनमध्ये समितिले पहिलो चरणमा ५ जना छनौट गर्ने र दोस्रो चरणमा ३ जना छनौट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने छ । समितिले सिफारिस गरेका ३ जनामध्येबाट एक जना सरकारले बोर्ड अध्यक्षमा छनौट गर्नेछ ।

    सेबोनको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्ने छ ।

    नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्थाबमोजिम कार्यविधि निर्धारण गरेको हो ।

    छनोट समितिले अध्यक्ष छनौटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ । जसअनुसार व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक छुट्याइएको छ ।

    गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् ।

     


    images
    images

    Logo