काठमाडौं । गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ ।
लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ ले विशेष पहल गरेका थिए । पहलस्वरुप बुधबारदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताए ।
पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नाट्टा, गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत् सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा क्रममा वक्ताले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।
बुधबार सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश नं २ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। सीधा उडानबाट गण्डकी प्रदेश र प्रदेश नं २ दुवै लाभान्वित बन्ने विश्वास व्यक्त गरे।
प्रदेश नं २ का उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेश हवाई उडानमार्फत जोडिनु महत्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैको चासो पुग्नुपर्ने बताए । प्रदेश नं २ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले सुरु भएको उडान अब बन्द हुन नहुने बताउँदै त्यसका लागि प्रदेश नं २ सरकार प्रतिबद्ध रहेकोमा जोड दिए।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनाउँदै गढीमाई र गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल एकापसमा जोडिनुपर्ने आवश्यकता औँल्याए।
नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आगामी दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटकीय गतिविधि बढ्नका लागि हवाई सञ्जालसँग जोडिनु आवश्यक भएको बताउँदै पोखरा–सिमरा उडानले गाडीबाट गर्नुपर्ने १० घण्टाको यात्रालाई आधार घण्टामा छोट्याएको बताए । कोरोनाले थलिएको पर्यटनलाई अघि बढाउनका लागि सीमानाका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै तत्काल खोल्नुपर्नेमा उनले जोड दिए।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले निकुञ्जमा धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी पाइए पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग हुन नसकेको बताए। नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले कोरोना प्रभावित पर्यटनलाई पुनःरुत्थान गर्न प्रदेश–प्रदेशबीचका सीधा उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, होटल क्लाक्र्स रिसोर्टका सञ्चालक सुनिलकुमार खेतानलगायतले पोखरा–सिमरा उडानसँगै दुवै प्रदेशबीचको पर्यटकीय, औद्योगिकलगायतका क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे । टोलीले आज पनि पर्यटनसम्बद्ध सरोकारवाला निकायबीच पर्यटनको पुनःरुत्थानलगायतका विषयमा सरोकारवालासँग छलफल गर्ने र शुक्रबार पोखरा फर्कने कार्यक्रम रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए ।



