images
images

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा


  • 348
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    मुग्लिन–पोखरा सडक विस्तार  : दमौलीका ५० घरधनीले बुझे मुआब्जा

    तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन् । 

    पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार  भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव ५ प्रतिशत भौतिक प्रगति भएको छ । डिजाइनअनुरुप सडक दायाँबायाँ २३/२३ मिटर चौडा हुनेछ । दमौली र डुम्रे बजार क्षेत्रमा ६ लेनको सडक बन्नेछ । राजमार्गका  न्य क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ । 

    आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उक्त सडकअन्तर्गत चार लेनको बाह्र किलोमिटर र दुई लेनको ८ किलोमिटर सडक कालोपत्र गरिएको हो । 

    पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । 

    उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद २०८१ साल वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए । 

    त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । 

    पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । २०७८ साल भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । 


    images
    images

    Logo