काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।