काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३३.७४ अंक घटेर १ हजार ९ सय ७२ दशमलव ९ विन्दुमा पुगेको छ । यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साता सोमबार र मंगलबार नेप्से परिसूचक बढेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १.६९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ।
१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ११.७७ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ४.१८ प्रतिशत बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.०६ प्रतिशत घटेको छ।
साताको पहिलो आइतबार २६.८१ अंकले घटेर १ हजार ९ सय ७९ दशमलव २ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार १३.२८ अंकले बढेर १ हजार ९ सय ९२ दशमलव ३० विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार २ हजार १ दशमलव ६४ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ०.८७ अंकले बढेर २ हजार दशमलव ७७ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम दिन विहीबार २८.६८ अंकले घटेर १ हजार ९ सय ७२ दशमलव ९ विन्दुम पुगेको छ । सो दिन २ अर्ब ५७ करोड बराबरको शेयर कारोबार भएको थियो ।
नेप्सेमा यस साता ८ कम्पनीको २ करोड ११ लाख ३४ हजार ७ सय ४३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, हाथवे इन्भेष्टमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स र फस्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता नबिल बैंकको ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको हो।
मौद्रिक नीति समीक्षापछि घट्न थालेको बजार अझै रोकिएको छैन । लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यही कारण कारोबार रकमका साथमा नेप्से सूचक पनि तल झरेको हो ।



