काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.२८ अंकले बढेर १ हजार ९ सय ९२ दशमलव ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको २ अर्ब १ करोड रुपौयँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ६७ कम्पनीको शेयर मूल्य बढेको छ । ७५ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्यूत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।
सोमबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि-इन्स्योरेन्स कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू) रहेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने नेपाल वेयरहाउजिङको शेयर मूल्य ७.६५ प्रतिशतले बढेको छ ।



