काठमाडौं । नयाँ ड्राइभिङ लाइसेन्सको ट्रायल खुला हुने भएको छ । कोरोना संक्रमण घट्दै जाँदा बाग्मती प्रदेश अन्तर्गतको यातायात व्यवस्था विभागले भदौ २० गतेदेखिका लागि ट्रायल खुला गरेको हो ।
यातायात कार्यालय चाबहिलले आइतबार सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।
सूचना अनुसार यसअघि फाराम भरेर बायोमेट्रिक गरेका परीक्षार्थीले भदौ २० गतेदेखि प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछन् । त्यस्तै, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन तथा वर्ग थपको लागि दर्ता गरी सकेकापरीक्षार्थीले ट्रायल दिन पाउँछन् ।
कोरोनाभाइरस महामारीसँगै ४ महिनादेखि सवारी चालक अनुमतिपत्रको लागि हुँदै आएको सम्पूर्ण कामहरु स्थगित छ । अहिले यातायात कार्यालयहरु खुला भएक पनि अनुमतिपत्रको परीक्षा खुलेको छैन।
अब हुने परीक्षा नयाँ मापदण्ड अनुसार हुनेछ । जहाँ सानोतिनो गल्ती भए पनि परीक्षार्थी फेल हुने छैन ।



