images
images

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने


  • 840
    SHARES
  • २०८० फाल्गुण १३ गते आइतबार

    सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने

    काठमाडौं । आइतबारदेखि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला भएको छ । उत्पादनमूलक उद्योग सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको मूल्य तय गरेको थियो । यससँगै, सर्वसाधारणले यो कम्पनीको आईपीओमा प्रतिकित्ता ३६०.९० रुपैयाँमा आवेदन दिन पाउनेछन् ।

    फागुन १६ गतेसम्म आवेदन दिन पाइने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । सर्वोत्तम सिमेन्टले नेपालको पुँजीबजारको इतिहासमा नै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन लागेको हो ।

    यसपछि, रिलायन्स स्पिनिङ मिल्सले यही विधिबाट आईपीओ बिक्री खुलाउन अन्तिम चरणमा छ । नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित यो कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि, सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा गएका, आयोजना प्रभावित स्थानीय र कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ ।

    उद्योगले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतका दरले हुने ६० लाख कित्ता सेयर बिक्रीका लागि ल्याएको थियो । यो सेयरको मूल्य निर्धारण संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियामार्फत ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामा किनिसकेका छन् । यसक्रममा कट अफ मूल्य ४०१ रुपैयाँ प्रतिकित्ता कायम भएको थियो ।

    यसपछि, २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बाँडफाँड भइसकेको छ । यस्तै, स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता सेयर बाँडफाँड भइसकेको छ । बुक बिल्डिङ प्रक्रियाबाट बाँकी रहेको ३६ लाख कित्ताबाट बाँकी रहेको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ कित्ता सेयर नै सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ ।

    यसबाट बाँकी रहेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.३३ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी २२.११ रुपैयाँ र जगेडा तथा कोषमा ४८ लाख ५१ हजार रुपैयाँ छ ।


    images
    images

    Logo