सरु बानियाँ महिला जागरण संस्था भक्तपुरकी अध्यक्ष हुन् । १५ वर्षअघि स्थापित सो संस्थाले भक्तपुर जिल्लालाई केन्द्रित गरी महिला सशक्तिकरणको काम गर्दै आएको छ । यसअन्तर्गत महिलाहरुलाई सीपमूलक तालिम दिने, महिलामाथि भएका हिंसा तथा दुर्व्यवहारका घटनाहरुको मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै न्यायिक निरुपणका लागि सहयोग गर्ने काम गर्दै आएको छ । बाँनियाँकै नेतृत्वमा अहिलेसम्म हजारौं महिलाले रोजगारी पाएका छन् भने सयौं महिलाले हिंसाविरुद्ध न्याय पाउने बाटो पाएका छन् ।
महिला संघ भक्तपुरकी अध्यक्ष समेत रहेकी बानियाँले गरेको यही योगदानका कारण विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भएकी छिन् । उनै बानियाँसँग महिला सशक्तिकरण तथा उद्यमशीलताको अवस्था र संस्थाले गरिरहेको काममा केन्द्रित भई गरिएको संवाद प्रस्तुत गरिएको छ ।
तपाइँ महिला जागरण संस्थाको अध्यक्ष हुनुहुन्छ । यो संस्थाले के के काम गर्दै आएको छ ?
हामीले मुख्यतया दुईवटा विषय हेर्छौं । एउटा महिलालाई स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर बनाउने । र, दोस्रो महिलासम्बन्धी मुद्दाको समाधानका सहयोग गर्ने ।
स्वरोजगारी प्रवद्र्धन गर्न हामीले महिलाहरुलाई आफ्नो इच्छा र आवश्यकताअनुसार तालिम उपलब्ध गराउँदै आएका छौं । सीटीइभीटी र अन्य व्यवसायिक तालिम दिने निकायसँग सहकार्य गरेर हामीले यस्तो तालिम उपलब्ध गराउँदै आएका छौं ।
महिलाको मुद्दा अन्तर्गत विभिन्न किसिमका हिंसामा परेका महिलाहरुको न्यायका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने काम गर्छौं । गम्भीर प्रकृतिका मुद्दाहरुमा भने प्रहरी तथा प्रशासनको सहयोगमा न्यायिक निरुपणका लागि सहयोग पनि गर्दै आएका छौं । हामीले विगत १५ वर्षदेखि यो काम गर्दै आएका छौं ।
१५ वर्षदेखि सक्रिय छौं भन्नुभयो, के के तालिम दिँदै हुनुहुन्छ ? अहिलेसम्म कतिलाई आत्मनिर्भर बनाउनुभयो ? कति केसहरु समाधान गर्नुभयो ?
यो अवधिमा करिब १ हजार जनाजतिलाई तालिम दिइसकेका छौं । धेरैजसो पार्लर, सिलाइकटाई, ब्युटिसियन, अचार बनाउने, जुत्ता, क्रिष्टलका सामाग्री, हस्तकला लगायतको तालिम दिँदै आएका छौं । त्यसमध्ये अहिले २ सय जनाजति रोजगारी तथा स्वरोजगारीमा आवद्ध छन् । करिब ४ सय जनाको विभिन्न समस्याहरु समाधान गरिसकेका छौं ।
१ हजारले तालिम लिँदा २ सय मात्रै रोजगारीमा आवद्ध रहेछन् । तालिम लिएका पनि स्वरोजगारीमा लाग्न चाहिँ किन नसकेका होलान् ?
धेरैजसोले घरको काम सकेर फुर्सदको समयमा तालिम लिने गरेको पाइयो । उनीहरुलाई रोजगार बन्ने भन्दा पनि आफ्नै घरको कामका लागि खर्च गर्न नपरोस् भन्ने ध्यान हुँदो रहेछ । आफ्नै घरको कपडा सिलाउन सिलाई तालिम सिक्ने, आफ्नै मेकअप गर्न ब्युटिसियन सिक्ने कारणले पर्याप्त मात्रामा रोजगारीमा आवद्ध नभएको पाइएको छ ।
कतिपय भने पुँजीको अभावले पनि स्वरोजगार बन्न नसकिरहेको अवस्था छ । हामीले त्यस्ता महिलाहरुलाई सरकारले उपलब्ध गराएको महिला उद्यमशीलता कर्जा प्राप्तिका लागि बैंकसम्म पुर्याइदिने, उद्योग दर्तादेखि अन्य प्रक्रियामा सहयोग गर्ने काम गर्दै आएका छौं । यही कारणले अहिले उद्यमी बन्ने क्रम बढेको छ ।
हामीले पछिल्लो समय आवश्यकता भएकालाई मात्रै तालिम दिनेगरी स्क्रिनिङ गर्न थालेका छौं । सीप सिकेर पनि स्वरोजगार बन्न नसकेका महिलाहरुको अवस्था बुझेर समस्या भए समाधान गर्न सहजीकरण पनि गर्दै आएका छौं ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्ने हो भने कति महिला रोजगारीमा आउलान् ?
अहिले हामीले तालिम दिएकामध्ये २० प्रतिशत जति रोजगारीमा आवद्ध भएका छ । कर्जाको सहज व्यवस्था हुने हो भने यो कम्तीमा पनि दोब्बर हुने अनुमान गरेका छौं ।
महिलाहरुको मुद्दा समाधान गर्छौं पनि भन्नुभयो । अहिलेसम्म कति र कस्ता केसहरु समाधान भयो ?
हामीकहाँ धेरैजसो घरेलु हिंसाका घटनाहरु आउँछन् । केही बलात्कारका घटना पनि आएका छन् । हामीले गम्भीर प्रकृतिका घटनाहरुलाई पुलिस र अदालतसम्म जाने र सामान्य प्रकृतिका घटनाहरुलाई दुई पक्षसँग छलफल र सहमति गराएर पठाउने गरेका छौं ।
एकपटक समाधान गरेर पठाएका केसहरु फेरि बल्झिएको घटना कति छ ?
हामीले त्यस्ता मुद्दाहरुको मध्यस्तता गर्दा इगो लिने भन्दा सम्झाइबुझाई गर्ने, कानूनी कारबाहीको बारेमा सचेत गराउने लगायतको काम गर्छौं । त्यसैले बल्झिएको घटना त्यति धेरै छैन ।
तर बल्झिँदै बल्झिँदैन भन्न चाहिँ सकिँदैन । कतिपय केसमा ‘मेरो विरुद्ध उजुरी गर्ने’ भन्दै झनै धेरै कुटपिग गर्ने, हिंसा भएको अवस्था पनि छ । कतिपय अवस्थामा त्यही भएर डिभोर्स भएका उदाहरण पनि छन् ।
हिंसाका घटनाहरुको निरुपण गर्दा सम्बन्धबिच्छेदलाई बढी प्राथमिकता दिनुहुन्छ भन्ने आरोप तपाइँ जस्ता संस्थामाथि लाग्ने गर्छ नि ? यसबारे के भन्नुहुन्छ ?
त्यस्तो हुँदैन । नेपाली समाजमा हुर्नेका र नेपाली समाज र संस्कृति बोकेका हामी, पुरुषलाई भगवान मान्ने हाम्रो समाजमा त्यसो गर्न सम्भव नै हुँदैन ।
हामीले मध्यस्तता गर्दा वा न्याय निरुपणमा सहयोग गर्दा महिला मात्रै पीडित छन्, पुरुष चाहिँ पीडक नै हुन् भन्ने धारणा राख्दैनौं । कतिपय अवस्थामा पुरुषहरु पनि पीडित हुन्छन् । पुरुषका पक्षमा पनि हामीले सहयोग गरेका छौं । हामी केसलाई सुरुमा बुझ्छौं । अनि मात्रै अगाडि बढ्छौं । सम्बन्ध निरन्तर हुनै नसक्ने देखेको अवस्थामा मात्रै सम्बन्धविच्छेदका लागि सहयोग गर्ने हो । नत्र मिलाउने प्रयास नै गर्ने हो ।
घटना भएपछि समाधान गर्ने अलग पाटो भयो । घटना नै हुन नदिन चाहिँ के गर्नुपर्ला ?
त्यसका लागि त महिला शिक्षित र आत्मनिर्भर बन्नुपर्छ । महिलाहरु आत्मनिर्भर हुन नसक्दा वा अरुसँग निर्भर हुनुपर्दा नै यस्तो घटना बढी हुने गरेको पाइएको छ । आफ्नै आम्दानी हुने महिलाहरु अक्सर यस्तो घटनाको सिकार भएको पाइएको छैन ।
त्यही भएर नै हामीले महिलालाई आत्मनिर्भर बनाउनुपर्छ भनेका हौं । महिलाहरु जहिलेसम्म सक्षम हुँदैनन्, तबसम्म हिंसाका घटना भइरहन्छन् ।
तपाइँहरुले १५ वर्षदेखि सक्रिय हुनुहुन्छ । यो बीचमा समाज, शासनव्यवस्थामा निकै परिवर्तन भयो । हिंसाको घटनामा चाहिँ यो बीचमा प्रकृति र संख्यामा कस्तो होला ?
अहिले हिंसाका घटनाको संख्या बढेको छ । तर, वास्तविक रुपमा यो बढेको हो भन्ने हामीलाई लाग्दैन । पहिले घटना दबिएर बसेको थियो, अहिले बाहिर आयो । फरक त्यति मात्रै हो ।
अहिले महिलाहरुमा हिंसालाई सहने प्रवृत्ति कम भएको छ । एउटी आमाले पहिले आफ्नी छोरीलाई चाहे जस्तोसुकै हिंसा भए पनि बाहिर नल्याउन भन्थिन् । अहिले उनीहरुले पनि यस्ता घटना बाहिर ल्याउन प्रोत्साहित गर्ने गरेको पाइएको छ । समाजको परिवर्तनको सकारात्मक प्रभाव सायद यही हो ।
भक्तपुर आफैंमा विशिष्ट प्रकृतिको ठाउँ छ । यहाँ प्राचीन बस्तीदेखि नयाँ शहरीकरण भएकोसम्म ठाउँ छ । यी दुई क्षेत्रलाई तुलना गर्दा हिंसाको अवस्थाका कस्तो फरकपन पाउनुभएको छ ?
हिंसा यहाँ धेरै, यहाँ थोरै भन्ने अवस्था छैन । तर, अहिले पनि पुराना बस्तीमा मान्छेमा इज्जतको नाममा घटना बाहिर नल्याउने अवस्था अलि बढी छ । नयाँ बस्तीमा यो अवस्था कम छ । उनीहरुले अन्यायमा पर्ने बित्तिकै घटना बाहिर ल्याउँछन् ।
पछिल्लो १/२ वर्षदेखि भने पुराना बस्तीमा पनि यस्तो घटना बाहिर ल्याउने प्रचलन बढ्दै गएको छ ।

तपाइँले आफैंले चाहिँ घर वा कार्यक्षेत्रमा काम गर्दा हिंसाको महशुस कति गर्नुभएको छ ?
परिवारमा त मैले अहिलेसम्म त्यस्तो हिंसाको महशुस कहिलै गर्नुपरेको छैन । यस मानेमा मैले आफूलाई संसारकै भाग्यशाली महिला भएको महशुस गरेको छु ।
तर, समाजमा भो हामीलाई पनि समस्या हुन्छ । प्रत्यक्ष रुपमा हिंसा नभोगे पनि अप्रत्यक्ष हिंसाका सिकार भइरहेकै हुन्छौं । हामीले हाँसेर बोल्दा उत्ताउली भनिन्छ । हामीले खुलेर कुरा गर्दा चरित्रमाथि शंका गरिन्छ । यसलाई समग्र समाजको अवस्था मानेर सहँदै आएका छौं । यसले निराश बनाउने भन्दा थप काम गर्ने प्रेरणा नै दिएको छ ।
सामाजिक अभियन्ताको रुपमा तपाइँले पटकपटक पुरस्कार पाउनुभयो । अहिलेसम्म पुरस्कारको संख्या कति भयो ?
अहिलेसम्म धेरै संघसंस्थाहरुबाट राष्ट्रिय र स्थानीय स्तरका पुरस्कारबाट सम्मान गर्नुभएको छ । अहिलेसम्म यस्तो संख्या ३० भन्दा बढी छ । हाम्रो योगदानको कदर गरेर सम्मान गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्छु । यस्तै सम्मानले हामीलाई थप काम गर्ने हौसला पनि मिलेको छ ।
आगामी योजनाहरु के के छन् ?
हाम्रो उद्देश्य भनेको महिलाहरुलाई शिक्षित, सीपमुलक बनाउँदै आत्मनिर्भर बनाउने तथा हिंसाबाट पीडित महिलाहरुको न्यायको लागि काम गर्ने नै हो । पछिल्लो समय महिलाको शिक्षाका लागि विभिन्न विद्यालयसँग सहकार्य गरेर उहाँहरुलाई विद्यालय भर्ना गरेर पढ्ने व्यवस्था मिलाएका छौं ।
पहिले हामीले सीममा मात्रै ध्यान दिएका थियौं, अहिले शिक्षामा पनि ध्यान दिन थालेका छौं । आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिरिदिने व्यवस्था पनि गरेका छौं । उमेरको छेकबार नलगाईकनै पढ्ने वातावरण बनाउँदै आएका छौं ।



