काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन साढे ३० अंकभन्दा बढी घटेको नेप्से परिसूचक यस दिन भने बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अंकले बढेर २ हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २ स्क्रिपको ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार १ सय ३२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ११ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.५६ अंक बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइ कमर्सियल बैंकको ११ करोड ६४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेपाल फाइनान्स कम्पनी, बोटलर्स नेपाल (बालाजू) र पाँचथर पावर कम्पनी रहेका छन् । समाज लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत र जोशी हाइड्रोपावरको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।



