काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम नबुझाउने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको नाम सार्वजनीक गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै ९० इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न फागुन मसान्तसम्मको समय दिएको हो ।
आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणअनुसार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क नबुझाएको भन्दै प्राधिकरणले सूचना जारी गरेको छ । मंगलबार जारी सूचनामा “कुल आम्दानीको चार प्रतिशतले हुने रोयल्टीवापतको रकम र दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोषवापतको रकम” फागुन मसान्तभित्र बुझाउन आग्रह गरिएको छ ।
यी कम्पनीहरूलाई यो रकम पुस मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरे पनि हालसम्म दाखिला नभएको प्राधिकरणले जनाएको छ ।
“मिति २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने दुई महिनाको थप दस्तुरसहित रोयल्टीवापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको रकम यस प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






