काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले परिवारको अर्को व्यक्तिको नाममा समेत शेयर खरिद गरेको भेटिएको छ । उनले आफ्नो भाइ बुहारीको नाममा समेत सर्वोत्तम सिमेन्टको शेयर किनेको भेटिएको हो ।
सो सिमेन्टको शेयर खरिद प्रकरणपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेञ्जसँग सो कम्पनीको सम्पूर्ण शेयर कारोबारको विवरण मागेको थियो । विवरण माग्दा ढुंगानाले परिवारका अन्य सदस्यको नाममा समेत शेयर किनेको भेटिएको हो । यसपछि अर्थले ढुगानालाई अर्को प्रष्टीकरण पत्र पठाएको छ ।
सो प्रकरणमा मुछिएका नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डकै सञ्चालक समिति सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिइसक्दा पनि ढुंगानाले राजीनामा दिएका छैनन् ।
ढुंगानाले यसअघि दाबी गरेजस्तै भाइ बुहारी पनि एकाघर परिवारका सदस्य होइन । तर, कानूनले एकाघर परिवारको सदस्य नमानेको लुपहोलका आधारमा ढुंगानाले अनधिकृत फाइदा लिन लागेको थप पुष्टि भने यो प्रकरणले गरेको छ ।



