काठमाडौं । मंगलबार नेप्से घटेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो ।
सोमबार सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नआउँदा यस दिन लगानीकर्ताहरु निराश भएका छन्।
तर समीक्षाले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्थाबाहेक अरु व्यवस्था नगरेपछि लगानीकर्ताहरु निराश भएका हुन्। जसका कारण आज बजार खुलेपछि घट्न पुगेको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५६ अंकले घटेर २ हजार ७० दशमलव ५९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय ५ स्क्रिपको ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड २१ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम बढेको छ । सोमबार ३ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ४० कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ११ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १० करोडमाथिको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल बालाजू, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावर रहेका छन् । त्यस्तै, जोशी हाइड्रोपावरको ८.३३ प्रतिशतले बढेको छ ।



