काठमाडौं । सोमबार नेप्से २१ सय विन्दुमा उक्लिएको छ । साताको दोस्रो दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३३ अंकले बढेर २ हजार १ सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ३ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड १ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ४५ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन ०.०५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको १६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त रहेका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।



