काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ विन्दुम पुगेको छ । सो दिन कारोबारमा आएका ३ सय १५ स्क्रिपको२ अर्ब ५९ करोड रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार २ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ८१ कम्पनीको शेयर मूल्य बढेको छ । ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।
मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएकोृ छ । आज यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, नेपाल पुनर्बीमाको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज समाज लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । गुराँस लघुवित्तको ९.४२ प्रतिशतले बढेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्सको ७.४० प्रतिशतले बढेको छ ।



