काठमाडौं । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।
कम्पनीले आइपीओ विक्रीका लागि कम्पनीले एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् ।
संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।