गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका हुन्। सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरुपमा काम गर्नुपरेको उनीहरु बताउछन् । अहिले उनीहरु नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित हुनुपरेको दुःखेसो गर्छन् ।
वृद्धाश्रमकै सहारामा बाच्नु परेपनि कमसेकम नागरिकता लिएर आफूहरु नेपाली भएर बाच्न पाउने आशामा रहदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउछिन् । पोखराको नयाँ बजार घर भएकी उनको आप्mनै पीडा व्यथा छन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने उनी झण्डै एक दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आएकी छिन् ।
आफन्तले साहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उनलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । उनले भनिन्, आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ । ”
त्यस्तै वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको अहिलेसम्म नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् ।
सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्केका अधिकांशको नजिकैका नातेदार तथा पैत्रिक सम्पत्तिका नाममा अत्तोपत्तो नभएका अस्पताल, प्रहरी र समाजका विभिन्न सङ्घ संस्थाकोमाध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ ।
वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी छ को पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ ।
“समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कूल ५२ को परिवार रहेको छ” उनले भने “तीनै तहका सरकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरुपमा सम्पन्न भए पनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ ।”
आश्रममा अट्याज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधोपचारलगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, “विशेष गरी जन्मोत्सव, विवाहको वार्षिकोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ । ”



