काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३१ अंकले घटेर २ हजार ६१ दशमलव ७० विन्दुमा पुगेको छ । आज ३ सय ७ स्क्रिपको ३ अर्ब २१ करोड रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढी शेयर कारोबार भएको छ । आज १ सय ४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३२ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, यस दिन मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



