काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १७.०८ अंक घटेर २ हजार ८४ दशमलव ९ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से परिसूचक उकालो लागेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताका अन्तिम दुई कारोबार दिन नेप्से घटेको हो।
साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.७५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब घटेर ३२ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित भएको छ।
साताको पहिलो आइतबार १०.३७ अंकले बढेर २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार १०.२६ अंकले बढेर २ हजार १ सय ४ दशमलव ७२ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार १४.८८ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६१ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार २१.६७ अंकले घटेर २ हजार ९७ दशमलव ९३ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँग कारोबार रकम पनि घटेको थियो ।
यसैगरि, विहीबार ३०.९२ अंकले घटेर २ हजार ६७ दशमलव १ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको छ।
यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ। कारोबारमा आएका लघुवित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक यस साता २ प्रतिशतभन्दा बढी घटेको छ।
थोरै बढ्ने बित्तिकै ट्रेडर हावी हुँदा नेप्से करेक्सनमा गएको हो । यस्तै, पछिल्ला दिनहरुमा नेपाल राष्ट्र बैंकहरुले लगातारजसो बजारबाट पैसा तानिरहेको छ । पछिल्लो ३ दिनमै ७० अर्ब ताने निर्णयसँगै यसको पनि बजारमा केही प्रभाव परेको अनुमान गरिएको छ ।
यता, राष्ट्र बैंकले अहिले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा जुटेको छ । यसकारण कतिपय लगानीकर्तामा भने ‘पर्ख र हेर’को मानसिकता पनि देखिन्छ । बजारको नियम अनुसार स्वभाविक करेक्सन पनि हुने गर्छ । यी भए बजार करेक्सनका सामान्य कारण हुन् ।



