काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२६ अंकले बढेर २ हजार १ सय ४ दशमलव ७२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १ सय ५० कम्पनीको शेयर मुल्य बढेको छ । ८६ कम्पनीको शेयर मुलय घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।
आज पनि सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएके हो । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मुल्य ८.७० प्रतिशतले बढेको छ भने अपर स्याङ हाइड्रोपावर र समाज लघुवित्तको शेयर मुल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।



