काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अंकले बढेर २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको छ । आज ३ सय ६ स्क्रिपको ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढसँगै कारोबार रकम पनि बढेको छ । गतसाताको अन्तिम दिन अथात् विहीबार ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ७३ कम्पनीको शेयर मूल्य बढेको छ । ७० कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको३३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मिड सोलु हाइड्रोपावर र माथिल्लो मौलुङ खोला हाइड्रोपावर रहेका छन् । त्यस्तै, सामलिङ पावर कम्पनीको ९.९८ प्रतिशतले बढेको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ ।



