काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा अपेक्षाकृत रुपमा मूल्य नघट्दा नेपाल आयल निगमको नोक्सानी चुलिँदै गएको छ । लामो समयदेखि नोक्सानमा पेट्रोलियम पदार्थकोे बिक्री गर्दै आएको निगम अहिलेको मूल्यका आधारमा मासिक २ अर्ब ३० करोडको नोक्सानीको अवस्थामा छ ।
१६ अगष्टमा भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार पेट्रोलमा १०.०६ रुपैयाँ, डिजेलमा ४.३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४२ रुपैयाँ ३ पैसा नोक्सानीको अवस्था छ । अहिलेको मूल्यमा बेच्दा पेट्रोलमा १५ दिनमा २२ करोड ७० लाख डिजेलमा ३१ करोड २ लाख र एलपी ग्यासमा ६५ करोड ३७ लाख नोक्सानी रहेको छ । मट्टितेल र हवाई इन्धनको नाफाका कारण कुल पाक्षिक नोक्सानी १ सय १५ अर्ब पुग्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
केही समय अघि निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि अहिले रोकिए पनि मूल्य खासै घट्न सकेको छैन । बढ्दो मूल्य र करका कारण नोक्सानीमा इन्धन बेचिरहेको निगमले मूल्य समायोजनबिना धान्नै नसक्ने अवस्थामा पुगिसकेको जनाएको छ ।



