काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद भने थप गरेको छ। स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गरेको हो। त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।



