images
images

लगातार तेस्रो दिन घट्यो नेप्से, ७ अर्ब ६७ करोडको कारोबार


  • 361
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    लगातार तेस्रो दिन घट्यो नेप्से, ७ अर्ब ६७ करोडको कारोबार

    काठमाडौं । शेयर बजार आज पनि घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।  

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अंकले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ७ अर्ब ६७ करोड बराबरको २ करोड २८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको विहीबार ८ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।आइतबार ६४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७७ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयरमुल्य स्थिर छ । 

    बैंकहरुले नाफा घटेको विवरण प्रकाशित गरेपछि शेयर बजारमा त्यसको असर देखिएको हो। आइतबार २० वटा वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमा १६ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ४ वटाको मात्रै बढेको छ। यसले गर्दा आइतबार अधिकाँश बैंकको शेयरमूल्य घटेको छ। बैंकहरुको खराब कर्जा बढ्दा त्यसले बैंकहरुको नाफा प्रभावित भएको छ। अधिकाँश बैंकको वितरणयोग्य नाफा समेत नकारात्मक देखीएकाे छ । 

    जसका कारण कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ। धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ। यस दिन विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धैरैले नकारात्मक देखिएको छ।

    आइतबार सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo