काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को पुससम्ममा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार पुससम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा आयात ७ खर्ब ९२ अर्ब रुपैयाँ भएको थियो भने ८० अर्ब ८० करोड बराबरको निर्यात गरेको थियो ।
आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा २.६२ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को पुससम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको थियो ।
यस अवधिमा आयात निर्यात अनुपात ४.४६ प्रतिशतले बढेको छ ।
नेपालले सबैभन्दा धेरै भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिना अवधिमा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रुपैयाँ बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् ।
पुस मसान्तसम्ममा चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख १५ हजार रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड रुपैयाँ, युक्रेनसँग ९ अर्ब ९६ करोड रुपैयाँ र मलेसियासँग ८ अर्ब ६० करोड रुपैयाँ बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।
चालु आर्थिक बर्षको छ महिनामा नेपालले अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार रुपैयाँ बराबरको आयात गर्दा ८ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ ।
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।



