काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६६.८३ अंक बढेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३.२० प्रतिशत बढेको छ। गत साता ३२ खर्ब ८१ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५ अर्ब बढेर ३३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार ३१.६२ अंकले बढेर २ हजार १ सय २० दशमलव ६२ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार माघ १ गते मंकर संंक्रान्ति परेकाले सरकारले सार्वजनिक विदा दिएको थियो । सो दिन शेयर कारोबार बन्द रहेको थियो ।
त्यस्तै, दोस्रो दिन मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार नेप्से घटे.पनि कारोबार रकम भने बढेको थियो । सो दिन १२.१० अंकले घटेर २ हजार १ सय ६३ दशमलव १ विन्दुमा पुगेको थियो । सो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
भने विहीबार ७.२४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो ।
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ८.९३ प्रतिशत बढेको छ। यस साता व्यापार र होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक १.३४ प्रतिशत घटेको छ।
समग्रमा बजारको आगामी प्रवृत्ति हेर्दा केही करेक्सनहरुका बाबजुत सकारात्मक माहोल बन्दै जाने देखिन्छ । किनभने बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले लगातारजसो पैसा खिचिरहेको छ । लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्था छ ।
यस कारण ठूला लगानीकर्ता पनि विस्तारै सेयर बजारतिरै आकर्षित हुन खोजेको देखिन्छ । माघ लागेसँगै ब्याजदर थप सस्तो भएको छ । यसकारण सस्तो ब्याजदरमा सेयर कर्जा पाइने अवस्था बन्दै गएको छ । यी परिदृश्यहरुले बजारमा सकारात्मक माहोल बनेको हो ।



