काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थपिएको छ। माघ २ गतेदेखि निष्काशन गरेको सो फण्डको इकाईका लागि अब माघ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ। क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।
सो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



