काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन ३१ अंक बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अंकले बढेर २ हजार १ सय २० दशमलव ६२ विन्दुमा पुगेको छ । आइतबार कारोबारमा आएका ३ सय १४ स्क्रिपको ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम दिन अथात् विहीबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार २ सय ११ कम्पनीको शेयर मुल्य बढेको छ । ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आज नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ह्याथवे इन्भेष्टमेण्ट नेपालको ११ करोड ८३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हिमालयन पावर पार्टनर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत र माथिल्लो मेलुङ खोला रहेका छन् । त्यसैगरी, अन्य ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



