images
images

चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, विदेशी विनिमय संचितिले १४ महिनाको आयात धान्ने


  • 354
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, विदेशी विनिमय संचितिले १४ महिनाको आयात धान्ने

    काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार मंसिर मसान्तसम्म चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ ।

    गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

    यस्तै यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो ।

    यस्तै चालु आर्थिक बर्षको मंसिरसम्म पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।

    १७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

    त्यस्तै, नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मङ्सिर महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको बस्तू तथा सेवा धान्न सक्ने अवस्था रहेको छ । चालु आवको मङ्सिर मसान्तसम्ममा कूल १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति मंसिरसम्ममा आइपुग्दा १४.८ प्रतिशतले बढेको छ ।

    विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।
    सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५।६ प्रतिशतले वृद्धि भएको छ ।

    केन्द्रीय बैंकमा रहेको यस्तो रकम मंसिरसम्ममा १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड  रुपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

    २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत छन् ।


    images
    images

    Logo