काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से, यसदिन भने घटेको हो ।
नेपाल स्टक एक्चेञ्ज (नेप्से) ०.६२ अंकले घटेर २ हजार ८८ दशमलव ९९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ कम्पनीको ४ अर्ब ३० करोड रुपैयाँ बराबरको २ करोड २१ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार कारोबारमा आएका १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ । आज पुनर्बीमा कम्पनीको प्रोमोटर शेयर १९ करोड ६० लाखको कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउसिङ कम्पनी रहेको छ । त्यस्तै, हिमालयन रि–इस्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ भने मेगा म्युचुअल फण्ड–१ को ९.९५ प्रतिशतले बढेको छ ।



