काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन बिहीबार (पुस १९ गते) अनुमति दिएको हो।
कम्पनीले सर्वाधारणका लागि निष्कासन गर्ने शेयरको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले अब योग्य संस्थागत लगानीकर्तालाई कुल ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर खरिदका लागि बोलपत्र आह्वान गर्नेछ।
योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता ६ सय ८ रुपैयाँदेखि अधिकतममा ९ सय १२ रुपैयाँ प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले यी रेन्जभित्र रहेर बोलकबोल गर्नुपर्नेछ।
योग्य संस्थागत लगानीकर्ताहरुबाट प्राप्त भएको बोलकबोलबाट कटअफ प्राइस निर्धारण हुनेछ। सोही कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि कम्पनीले आइपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले दोस्रो चरणमा ६० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।



