images
images

गाउँभित्र शहर र शहरभित्र गाउँ खोज्दै राष्ट्रिय तथ्यांक कार्यालय


  • 484
    SHARES
  • २०८० पौष १७ गते मंगलबार

    गाउँभित्र शहर र शहरभित्र गाउँ खोज्दै राष्ट्रिय तथ्यांक कार्यालय

    काठमाडौं । राष्ट्रिय जनगणनामा शहरी जनसंख्याको अनुपात धेरै भएर विकास योजना तर्जुमा गर्न अप्ठ्यारो भइरहेको बेला ग्रामीण र शहरी क्षेत्रसम्बन्धी नयाँ वर्गीकरण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनमा गाउँपालिका क्षेत्रभित्रको शहर र नगर क्षेत्रभित्रको गाउँलाई छुट्टै रुपमा वर्गीकरण गरेको हो । 

    प्रतिवेदन अनुसार शहरी तथा ग्रामिण क्षेत्रलाई तीनवटा श्रेणीमा वर्गीकरण गरिएको छ । जसमा शहरी क्षेत्र, शहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्र रहेका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका क्षेत्रहरुलाई परिवेशको आधारमा यी तीनवटा वर्गमा विभाजन गरिएको छ । 

    कार्यालयको प्रतिबेदन अनुसार ४६० गाउँपालिकाका ३२१५ वडामध्ये १३९ वटा वडालाई शहरी क्षेत्र, ६६४ वटालाई शहरउन्मुख र बाँकी २४१२ वटालाई ग्रामीण परिवेश भएका क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । त्यस्तै, २७६ नगरपालिकाका ३१२० वडामध्ये ५९१ वटा वडालाई शहरी क्षेत्र, १२८५ वटालाई शहरउन्मुख र बाँकी १२४४ वटालाई ग्रामीण परिवेश भएका क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । 

    उपमहानगरपालिकातर्फ ५३ प्रतिशत क्षेत्र शहर, ३९ प्रतिशत क्षेत्र शहररोन्मुख र बाँकी ८ प्रतिशत ग्रामीण परिवेशको क्षेत्र रहेका छन् । महानगरपालिका अन्तर्गत भने ८०.७ प्रतिशत शहर, १७ प्रतिशत शहरोन्मुख र बाँकी २.३ प्रतिशत ग्रामीण परिवेशको क्षेत्र रहेको रिपोर्टमा उल्लेख गरिएको छ । 

    यसअघि राष्ट्रिय जनगणना २०७८ ले नेपालको महानगर, उपमहानगर र नगरपालिका सहित २९३ वटा नगरभित्र बसोबास गर्ने सबैलाई शहरी जनसंख्याको रुपमा परिभाषित गरेको थियो । जसअनुसार ६६.१७ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा थिए भने बाँकी ३३.८३ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने उल्लेख थियो । 

    नयाँ रिपोर्टसँगै गाउँपालिकाका ५.९ प्रतिशत जनसंख्या समेत शहरीस्तरमा वर्गीकृत भएका छन् । त्यस्तै, नगरपालिकाका २५.४ प्रतिशत जनसंख्या तथा उपमहानगरपालिकाका ८ प्रतिशत र महानगरपालिकाका २.३ प्रतिशत क्षेत्रमा बसोबास गर्ने जनसंख्या समेत ग्रामीण वर्गमा सूचीकृत भएका छन् । 


    images
    images

    Logo