images
images

कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकसँगको निर्भरता हट्दै


  • 358
    SHARES
  • २०८० पौष १३ गते शुक्रबार

    कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकसँगको निर्भरता हट्दै

    काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाल विदेशी चिकित्सकको निर्भरताबाट मुक्त हुँदै गएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका पछिःल्ला प्रत्यारोपणहरुमा नेपाली चिकित्सकको बढी र विदेशी चिकित्सकको संलग्नता कम हुँदै गएको हो । पछिल्ला ५ वटा प्रत्यारोपणहरुमा भारतको म्याक्स अस्पतालका एकमात्रै चिकित्सक संलग्न भएको अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।  

    २०७३ साल मंसिरदेखि सुरु भएको उक्त प्रत्यारोपणमा यसअघि कोरियाली चिकित्सकको सहयोगमा हुँदै आएको थियो । पछिल्लो समय भारतको म्याक्स अस्पतालका चिकित्सकको सहयोगमा उक्त प्रत्यारोपण हुँदै आएको छ । तर, अब नेपाली चिकित्सक मात्रै पनि प्रत्यारोपण गर्न सक्षम रहेको अस्पतालको भनाइ छ ।

    पुस ७ गते प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना गरेको  थियो । त्यसपछिका एक सातामा मात्रै केन्द्रले २ कलेजो र ३ मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक पुकार चन्द्र श्रेष्ठले पुस ८ गते भक्तपुरका २२ वर्षीय युवक र ९ गते सप्तरीका २५ वर्षीय युवकमा कलेजो प्रत्यारोपण गरेको बताए । उक्त प्रत्यारोपणमा दाता र ग्रहणकर्ता दुवैको अवस्था सामान्य रहेको उनको भनाइ छ । भक्तपुरका युवकलाई उनकै बुवा र सप्तरीका युवकलाई आफ्नै दिदीले कलेजो दान गरेका थिए । 

    देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । त्यसमध्ये एकै साता २ जनाको प्रत्यारोपण सम्पन्न गर्न सफल भएको हो । अबको केही हप्तामै ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ । त्यस्तै केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११७२ जनाको मृगौला प्रत्यारोपण समेत भइसकेको केन्द्रले जनाएको छ । 

    केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यु पश्चात् प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गर्दैै मृर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी केन्द्रको समन्वय इकाइमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत आग्रह गरेको छ  ।  हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रका लागि ५०० शैयाको अत्याधुनिक भवन बनाउने घोषणा गरेका छन् । 


    images
    images

    Logo