काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा रहेका उद्योगमा विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेसँगै यो विवाद फेरि चर्चामा आएको छ । विवाद कायम रहेका ६१ मध्ये ९ वटा उद्योगमा प्राधिकरणले लाइन काटिसेकेको जनाएको छ । बाँकीमा पनि काट्दै जाने प्राधिकरणको अठोट छ ।
उक्त बिलिङ भएका उद्योगबाट मात्रै करिब २२ अर्ब २४ करोड महशुल लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये जगदम्बा स्टिल्सको ४ अर्ब १४ करोड, शिबम् सिमेन्टको २ अर्ब २७ करोड, रिलायन्स स्पिनिङ मिलको १ अर्ब ९४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, अर्घाखाँची सिमेन्टको १ अर्ब ३१ करोड बक्यौता रहेको छ ।
त्यस्तै, मारुती सिमेन्टको ९७ करोड, त्रिवेणी स्पिनिङ मिल्सको ८९ करोड, लक्ष्मी स्टिल्सको ७९ करोड, नारायणी स्पात मिल्सको साढे ७८ करोड, अशोक स्टिल्सको ७८ करोड, सर्वोत्तम सिमेन्टको ७३ करोड, सोनापुर मिनरल्सको ५७ करोड बक्यौता रहेको छ ।





