images
images

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत, २०४७ जना मतदाता


  • 340
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत, २०४७ जना मतदाता

    काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कुल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । 

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । 

    यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५ सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५ सय ४९ जना कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५ सय ६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरिएको छ ।

    निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित नामावलीमा कुनै मतदाताको नाम छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

    त्यस्तै, राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५ सय ५९ रहेको छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

    यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ हुनेछ ।

    आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जनाको पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो ।

     

     


    images
    images

    Logo