डोटी । घर र जमिन नभएर मागेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । दिपायल सिलगढी नगरपालिकाले जमिन खरीद गरेर घर निर्माण गर्न पहल सुरु गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको ४१ लाख ४९ हजार रुपैयाँ लगानीमा दिपायल सिलगढी –४ गैरामा ती समुदायका सात परिवारका लागि दुई कोठे घर बनाउन ठेक्का सम्झौता भएको थियो ।
दिपायल सिलगढी –४ का वडासदस्य टेकबहादुर कामीले आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारीदिए । उनले भने, “बादी समुदायको आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ, अब केही दिनमा निर्माण सकेर हस्तान्तरण गर्ने तयारीमा छौँ ।” वषौपछि जमिन, पक्की घर तथा शौचालय पाउने भएपछि यहाँका भूमिहीन ती समुदाय अहिले औधी खुशी छन् ।
यसअघि आफ्नो जमिन नभएका कारण यहाँका ती समुदाय दिपायल सिलगढी–४ सेती प्राविधिक शिक्षालयको गेट अगाडिको सरकारी जमिनमा बस्दै आएका थिए । नगरपालिकाले कार्यविधि बनाएर भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराएपछि अहिले आवास बन्न थालेको निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए । उनले भने, “जमिन नहुँदा अव्यवस्थित बसोबास गर्दै आएका बादीलाई कार्यविधि बनाएर जग्गा उपलब्ध गरायौँ, प्रदेश सरकारले आवास निर्माणका लागि रकम दिएपछि अहिले आवास बनेका हुन् ।”
नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५/२०७६ को १२ लाख रुपैयाँबाट तीन घरपरिवारलाई र आव २०७६÷०७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई जग्गा खरिद गरी लालपुर्जा वितरण गरिएको थियो । नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर , गणेशबहादुर र श्याम बादी लाई जग्गाधनी पूर्जा प्रदान गरेको थियो भने माया , भक्तबहादुर , तेजबहादुर र दीलबहादुर बादीलाई विसं २०७७ चैत महिनामा जग्गाधनी पुर्जा प्रदान गरेको बताइएको छ । नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले आवास निर्माणमा सहयोग गरेको हो ।
चालू आवको असार मसान्तभित्र सात आवास निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको वर्षको माघ १० गते सम्झौता भई नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरले आवास निर्माणको जिम्मा पाएको थियो । कोरोना जोखिमका कारण तोकिएका समयमा काम सम्पन्न गर्न नसकिए पनि अहिले आएर आवास निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त कन्स्ट्रक्सनका प्रतिनिधि सुचित्र शाहले बताए । उनले भने, “असार मसान्तमा काम सक्ने गरी हामीले ठेक्का सम्झौता लिएका थियौँ,सङ्क्रमणले काम केही ढिलो भयो, अब चाँडै आवास निर्माण सकेर बुझाउने छौँ ।



