काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरुलाई पूर्वाधारको क्षेत्रमा ६० प्रतिशत लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसमा उद्घाटन मन्तव्य दिदैँ उनले यस्तो बताएका हुन् ।
उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरेका हुन् । उनले सहकारीहरुको समस्याहरुलाई पनि समाधान गरिदिने बताए । साथै उनले सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म लिने गरेको व्याज घटाउनुपर्ने बताएका छन् ।
उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्नु पर्ने बताएका छन् । साथै उनले एक महिनाभित्र स्थिरीकरण कोष खडा गर्न नेफ्स्कुनलाई आग्रह गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।



