images
images

इन्दुशङ्कर र एभरेष्ट सुगर मिलले रोके उखुको क्रसिङ


  • 392
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    इन्दुशङ्कर र एभरेष्ट सुगर मिलले रोके उखुको क्रसिङ

    काठमाडौं । उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु व्रmसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिए । 

    उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ । इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उखु किसानका सङ्घ सङ्गठनले तत्काल उखु व्रmसिङ नगर्न भनी ज्ञापनपत्र बुझाएको जानकारी दिए । इन्दुशङ्कर र एभरेस्ट दुवै उद्योगले उद्योग सञ्चालनका लागि केही दिनअघि नै डोङ्गा पूजा गरिसकेका छन् । दुवै उद्योगले किसानलाई उखु काट्ने चलान (अनुमतिपत्र) बाँड्न पनि सुरु गरिसकेका थिए । चलान बाँडेपछि उद्योगमा दुई हजार क्विन्टल तथा विभिन्न स्थानका काँटामा पाँच हजार क्विन्टलभन्दा बढी उखु जम्मा भइसकेको उखु प्रबन्धक रजकले बताए । 

    उद्योग सञ्चालन नहुन्जेल ती उखु अब डम्पिङ गरेर राखिने प्रबन्धक रजकले बताएका छन् छ । उनले अन्य किसानलाई तत्काल उखु नकाट्न सूचना गरिसकिएको र किसान महासङ्घले अर्को निर्णय नदिएसम्म उखु व्रmसिङ स्थगित गर्ने बताए । सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदहले केही दिनअघिदेखि नै उखु व्रmसिङ सुरु गरिसकेको छ । सो उद्योगमा सोमबार दिउँसो आफूहरू पुगेर उखुको मूल्य निर्धारण नहुन्जेल मिल बन्द गरिदिन आग्रह गरेको उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए । 

    उनका अनुसार अन्नपूर्ण चिनी उद्योग धनकौलका मालिकले सरकारले मूल्य नतोक्दासम्म उखु व्रmसिङ सुरु नगर्ने प्रतिबद्धता जनाएका छन् । मङ्सिर १७ गते उखुको मूल्य निर्धारण गर्न भएको वार्तामा सरकारले गएको वर्षभन्दा ११ रुपैयाँँ बढाउने गर्ने प्रस्ताव गरे पनि उखु किसानले अस्वीकार गरेका छन् । उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले चिनीमा भएको मूल्य वृद्धि अनुसार नै उखुको मूल्य बढाउनुपर्ने आफूहरूको माग रहेको बताए । 

    गएको वर्ष चिनी उद्योगले ५४० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिने गरी उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपैयाँँ कायम भएको थियो । सरकारले दिने ७० रुपैयाँँ अनुदान रकममध्ये सर्लाही, नवलपरासी र कञ्चनपुरका किसानले अझै पैसा प्राप्त गर्न सकेका छैनन् । सर्लाहीमा अपूरो रकम निकासा भएर आएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले प्रतिक्विन्टल ७० रुपैयाँँमध्ये २१ रुपैयाँँका दरले वितरण गरेको छ । गत वर्षको बाँकी रहेको अनुदान रकम तत्काल निकासा नभएसम्म र यो वर्षका लागि उखुको मूल्य निर्धारण नहुन्जेलसम्म चिनी उद्योग सञ्चालन हुन नदिने मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।


    images
    images

    Logo